दिपू वर्णवाल
पौष ११, वीरगञ्ज । वीरगञ्ज मेघा कलेजको आयोजनामा स्वागत कार्यक्रम सम्पन्न भएको छ । कलेजमा कक्षा १२ अध्ययनरत विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेका हुन् । कलेजका संस्थापक निर्देशक शम्भु गुप्ताको अध्यक्षतामा स्वागत कार्यक्रम सम्पन्न भएको हो । स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य रहबर अन्सारीले शिक्षित हुनु र साक्षर हुनु फरक कुरा भएको बताए । पढेको कुरालाई व्यावहारमा पनि उतार्नेहरु शिक्षित भएको बताउँदै पढाईलाई कार्यन्वयन गर्नुपर्नेमा अन्सारीले जोड दिएका छन् ।
संख्यात्मकभन्दा पनि गुणात्मक रुपमा शैक्षिक सुधार हुनुपर्ने आवश्यक्ता औँल्याउँदै उनले साधारण व्यक्तिले पनि असाधारण तरिकाले काम गर्नुपर्ने बताए । आधारभुत कुराहरुलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अन्सारीको भनाई छ ।
कार्यक्रमको सभापन गर्दै मेघा कलेजका संस्थापक अध्यक्ष एवम् निर्देशक शम्भु गुप्ताले कुनै पनि संस्था भौतिक संरचना र पूर्वाधारले सानो ठूलो नहुने बताए । उसले प्रदान गर्ने सेवाको प्रभावकारीता र गुणस्तरीयताले संस्थाको गरिमा बढ्ने गुप्ताको बुझाई छ । धेरै जना सामुदायिक विद्यालयमा पढेर पनि सफल भएको उदाहरण सुनाउादै उनले सफलताका लागि लगाव, मेहनत र ईमान्दारीता हुनुपर्नेमा जोड दिए । कार्यक्रममा कलेजका निर्देशकद्वय दिपेन्द्र चौधरी, विश्वास प्रताप साह, प्रिन्सीपल काशीप्रसाद चौधरी लगायतको उपस्थिती रहेको थियो । सो अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीसमेत प्रस्तुत गरेका थिए ।