दिपू वर्णवाल __________
पौष ११, वीरगञ्ज । साहसिक र रमाइलो अनुभव खोजी गर्नेहरुका लागि वीरगञ्जमै साहसिक पार्क संचालनमा आएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्वर १४ बाइपासको बोलबम पेट्रोल पम्प नजिक संचालनमा ल्याइएको ‘वल्र्ड अण्डर’ पार्कमा रोमाञ्चक र साहसिक खेलले आनन्द लिन सकिने छ । वीरगञ्जमा दिन विताउनका लागि आवश्यक घुमफिर गर्ने स्थान अभाव रहेकोमा अब यो पार्क संचालनमा आए सँगै वीरगञ्ज घुम्न आउने तथा यहीका स्थानीयका लागि पनि दिन विताउन पार्क फलदायी रहने देखिएको छ । डेढ विघा जग्गामा ८ करोडको लगानीमा संचालनमा ल्याइएको पार्कमा विभिन्न प्रकारका साहसिक खेलका साथै आकर्षक सजिसजावट गरिएको छ ।
यहाँ जिपलाइन, स्काई साइकल, मल्टिपल रोप कोर्स, ¥यापेलिङ, र वाल क्लाइम्बिङ जस्ता साहसिक खेलको अनुभव लिन सकिने छ ।
वीरगञ्ज बाहिर गएर यस्ता खेलको अनुभव लिनुपर्ने बाध्यता पार्क संचालनमा आएसँगै हटेको पार्कका सञ्चालक सौरभ केडिया बताउँछन् । ५ जना व्यवसायीको संयुक्त लगानीमा संचालनमा ल्याइएको यो पार्कमा साहसिक खेलका साथै रोमाञ्चक बहु खेल मैदान पनि रहेको छ । जसमा फुटसल, टेनिस, भलिबल र क्रिकेट खेलको अत्याधुनिक सुविधा पनि लिन सक्ने केडिया बताउँछन् । पार्क भित्र छिरिसकेपछि खाजा नास्ताका लागि यहाँ घुम्न आउनेहरु बाहिर निस्कनु नपर्ने गरी व्यवस्था मिलाइएको छ । आवश्यक खानेकुरा तथा पेय पदार्थ पार्कभित्रै स्टलमा प्राप्त गर्न सक्ने गरी व्यवस्था मिलाइएको अर्का संचालक दीपक बेद बताउँछन् । पार्कको आइतबार विधिवत पुजा गरेर संचालनमा ल्याइएको छ । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले विधिवत पुजा गरी पार्ककको उद्घाटन गरेका हुन् । उनले यस्ता पार्कले घुम्न आउनेका लागि समय व्यतित गर्ने ठाउँ मात्रै नभई रोजगारी सिर्जना गरेर अर्थतन्त्र चलायमान बनाउने विश्वास लिए ।
उद्घाटन कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा। सुवोध कुमार गुप्ता, बरिष्ठ पत्रकार चन्द्रकिशोर झा, उद्योगी अशोक वैद्य, सौरभ केडिया, आरोह मित्तल, हेमंत बेद, सनी अग्रवाल लगायतको उपस्थिति थियो ।