मंसिर १६, काठमाण्डौ । उच्च शिक्षासँग सम्बन्धित महत्त्वपूर्ण निकाय पदाधिकारीविहीन भएका छन् । पछिल्लो समय विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय सेवा आयोग तथा नेपाल खुला विश्वविद्यालयका परिषद् तथा विभाग रिक्त छन् । लामो समयदेखि नेतृत्वविहीन भएका यी निकायमा नयाँ नियुक्तिका लागि सम्बन्धित निकायले चासो दिएको छैन ।
नेपाल खुला विश्वविद्यालयमा सामाजिक शिक्षा, प्रविधि र व्यवस्थापन तथा कानुन सङ्काय २०७८ भदौदेखि डिनविहीन छ । त्यस्तै विज्ञान, स्वास्थ्य र प्रविधि सङ्कायका डिन पनि गत पुसदेखि रिक्त छ । उपकुलपति डा शिलु मानन्धर वज्राचार्य यसअघि व्यवस्थापन तथा कानुन सङ्कायको डिन थिइन् । डिनको हैसियतमा उनको कार्यकाल अघिल्लो वर्षको भदौमै सकिएको थियो। उनी गत माघमा उपकुलपतिमा नियुक्त भएकी छिन् ।