मंसिर १८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आफ्नै नेतृत्वमा सरकार गठनका लागि सबै विकल्प खुल्ला राख्ने निष्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार निर्माणका लागि संसद्मा रहेका सबै दलस“ग खुला रूपमा छलफल एवं सहकार्यका लागि सबै विकल्प खुला राख्ने निष्कर्षमा माओवादी केन्द्र पुगेको हो ।
कोटेश्वरस्थित पेरिसडाँडा पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको पदाधिकारी बैठकले प्रचण्डकै नेतृत्वमा सरकार गठन गर्न सबै राजनीतिक दलस“ग छलफल गर्ने निर्णय गरेको हो । हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन, सरकार गठनलगायत विषयमा छलफल गर्न बसेको बैठकले यस्तो निर्णय गरेको हो । माओवादी केन्द्र उपाध्यक्ष कृष्णबहादुर महराले सबै विकल्पमा छलफल गरेर पार्टीकै नेतृत्वमा सरकार गठन गर्न तयार रहेको बताए । सत्तारूढ पाँच दलीय गठबन्धन नछोड्ने तर पार्टी नेतृत्वमा सरकार गठनका लागि अन्य दलस“ग समेत छलफल गर्ने निर्णय भएको उनले जानकारी दिए ।