मंसिर २६, काठमाण्डौ । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लागू गरेको निर्वाचन आचारसंहिता हटाएको छ । आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भई मतपरिणाम सार्वजनिक भइसकेको हुँदा सोमबारदेखि लागु हुने गरी निर्वाचन आचारसंहिता हटाउने निर्णय भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
‘गत साउन १९ गते नेपाल सरकार र मन्त्रिपरिषद्को निर्णयानुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा १ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा १ बमोजिम मंसिर ४ गते निर्वाचन सम्पन्न हुने गरी निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा २ बमोजिम असोज १२ गतेदेखि देशभर लागू रहेको निर्वाचन आचारसंहिता मंसिर २६ गतेदेखि लागू नरहने निर्णय आयोगले गरेको छ, उनले भने,निर्वाचन सम्पन्न भई मतपरिणाम सार्वजनिक भइसकेको अवस्थामा निर्वाचन आचारसंहिता हटाइएको हो ।
यसअघि मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनगर गर्दै आयोगले असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता लागु गरेको थियो । सो निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको आयोगले जनाएको छ । यो समाचार नागरिक दैनिकमा छ ।