मंसिर २६, काठमाडौँ । लाइन्स क्लब अफ काठमाडौँ शुभ आरम्भ (इन्टरनेशनल डिस्ट्रिक ३२५एल) ले काठमाडौँ महानगपालिका–१४ माछागेटमा सार्वजनिक शौचालय बनाइदिने भएको छ । आज एक कार्यक्रमबीच शौचालयको शिलान्यास गरिएको हो । माउण्ट एभरेष्ट क्लब तथा न्यु माउण्ट एभरेष्ट टोल सुधार समितीको भवन क्षेत्रभित्र अत्याधुनिक शौचालय निमार्ण गर्न लागिएको हो । निर्माणाधिन शौचालयको शिलान्यास डिस्ट्रिक गर्भनर लायन मनिश्री रत्न बज्राचार्यले गरेका थिए ।
शिलान्यास कार्यक्रममा माउण्ट एभरेष्ट क्लबका पदाधिकारी तथा सदस्य, टोल सुधार समितीका सदस्य लगायत लाइन्स क्लब अफ काठमाडौँ शुभ आरम्भका सदस्यहरुको उपस्थिती रहेको थियो । शिलान्यासपछि प्रतिक्रिया दिँदै क्लबका संस्थापक अध्यक्ष राजेश गौतमले शौचालयको कामलाई तिव्र गतिमा सम्पन्न गर्ने बताए । उनले टोलमा अझै विभिन्न किसिमका योजना र कार्यक्रमलाई अघि बढाउने समेत जानकारी दिए ।
त्यसैगरी क्लबका सल्लाहकार राजेश्वर स्थापितले शौचालय निमार्णपछि टोलवासीलाई सहजता सिर्जना गर्ने बताए । उनले शौचालयको निमार्ण आवश्यक रहेको औल्याउदै सरसफाईले टोलमा सकारात्मक प्रभाव पार्ने बताए । कल्बका अध्यक्ष रविन लामाले शौचालय निर्माणको लागि सहयोग गरेकोमा लाइन्स क्लव अफ काठमाडौँ शुभ आरम्भलाई धन्यवाद दिँदै लाइन्स क्लवको आगामी योजनामा १४ नम्बर वडा प्राथामिकतामा पर्ने आशा व्यक्त गरे ।
माउण्ट एभरेष्ट क्लवका संयोजक रञ्जित गौतमले शौचालय प्रयोग निशुल्क गर्न सकिने बताउदै चाँडै नै क्लवले क्लोथ बैँक स्थापना गर्ने र शौचालयमा स्यानेटरी प्याड निशुल्क व्यवस्था मिलाउने जानकारी दिए । उनले २ महिनाभित्र शौचालय निर्माणको काम सकिने बताए ।