मंसिर २८, काठमाण्डौ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् । भट्टराईलाई भेट्न केसी उनको निवास टोखा पुगेका थिए । आज बिहान भट्टराई र केसीबीच भेटवार्ता भएको र समसामयिक राजनीतिक विषयमा छलफल भएको केसीको सचिवालयले जानकारी दिएको छ । उनीहरूबीच करिब १ घन्टा ३० मिनेट कुराकानी भएको थियो ।
नुवाकोट २ बाट प्रतिनिधि सभा सांसद जितेका केसीले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिइरहेका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई यसअघि भेटिसकेका छन् ।