पौष २, काठमाण्डौ । सरकारले आफैँले तोकेको मूल्यमा धान खरिद नगरेको भन्दै किसानले आन्दोलन थाले पनि सरकारले भने अझै बेला नभएको बताएको छ ।
सरकारले धान खरिद नगर्दा सस्तो मूल्यमा निजी मिललाई धान बेच्न बाध्य भएको किसानको गुनासो छ । तर धान खरिदको जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने गुणस्तरीय धान खरिदका लागि अझै बेला नभएको जनाएको छ ।
धान काट्ने बित्तिकै किन्दा त्यसमा चिस्यानको मात्रा बढी हुने भएकाले ढिलो गरी मात्रै धान किन्न लागिएको खाद्य व्यवस्था कम्पनीको भनाइ छ । यसवर्ष ३० हजार २० मेट्रिक टन धान खरिद गर्ने खाद्य व्यवस्था कम्पनीको योजना छ । त्यसका लागि ९९ करोड रुपैयाँ बजेटसमेत छुट्याइएको छ । अहिलेसम्म १० हजार क्विन्टल धान खरिद भइसकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब कार्यकारी अधिकृत श्रीमणिराज खनालले अघिल्लो शुक्रवारदेखि धान खरिद प्रक्रिया सुरु भइसकेको बताए ।