पौष ३, मकवानपुर । वाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि औपचारिकरुपमा बाटो खुलेको छ । निर्वाचन आयोगले शनिबार मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनबाट वाग्मती प्रदेशसभाका लागि निर्वाचित सदस्यको विवरण प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई पेश गरेसँगै सरकार निर्माणको बाटो खुलेको हो ।
निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले प्रदेश प्रमुख कार्यालय हेटौंडा–१०मा पुगेर प्रदेश प्रमुख शर्मालाई प्रदेशसभाका लागि निर्वाचित सदस्यहरुको विवरणसहितको प्रतिवेदन पेश गरेको हो । प्रदेशसभा सचिवालयले नयाँ अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुखबाट पत्राचार भएसँगै सदन सञ्चालनको प्रक्रिया समेत अगाडि बढ्ने जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार प्रतिवेदन बुझाएको मितिले २० दिनभित्रमा प्रदेशसभाको नयाँ अधिवेशन बोलाइसक्नुपर्ने व्यवस्था छ ।