पौष ५,काठमाडौँ । प्रतिनिधि सभामा निर्वाचित २७५ सांसदहरुमध्ये सवैभन्दा जेठो सांसद राप्रपाका पशुपति शमशेर जबरा ठहर भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित जबरा नागरिकताका आधारमा जेठो सदस्य देखिएपछि उनैले अन्य सांसदहरुलाई पुस ७ गते शपथ गराउने भएका छन् ।
संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले भने-‘निर्वाचित सांसदहरुको जन्म मिति भिडाएर हेर्दा सबैभन्दा जेठो सांसद पशुपति शमशेर राणा देखिनुभएको छ । त्यसैले उहाँलाई ज्येष्ठ सांसदका रुपमा राष्ट्रपति समक्ष सपथका लागि सिफारिस गरिएको छ, उहाँले राष्ट्रपतिबाट सपथ लिएपछि अन्य माननीयहरूलाई सपथ गराउनुहुन्छ ।’
यसअघि महेन्द्र यादव, चित्रबहादुर केसी वा पशुपति शमशेर जवरामध्ये को ज्येष्ठ सदस्य भन्ने विवाद थियो । यो विवाद भएपछि संसद सचिवालयले निर्वाचन आयोगको रेकर्ड र नागरिकता भिडाएर ज्येष्ठ सदस्य निर्क्योल गरेको हो ।