पौष ८, काठमाण्डौ । काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ । पुस लागेसँगै मुलुकभर अधिकतम र न्यूनतम तापक्रम घट्न थालेकामा पछिल्लो समय बिहानपख देशभर हुस्सु लाग्न थालेको छ । काठमाडौंमा बिहीबार मध्याह्नसम्म नै हुस्सु लागेको थियो भने मध्य तराईमा दिउँसो २ बजेसम्म घाम लाग्न सकेन । काठमाडौंमा न्यूनतम तापक्रम एकै दिनमा झन्डै एक डिग्री सेल्सियसले घटेको छ । बुधबार बिहान न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस रहेकोमा बिहीबार बिहान ६.५ मा झरेको थियो । अधिकतम तापक्रम पनि १८.२ डिग्रीमा झरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार देशभरको अधिकतम र न्यूनतम तापक्रम घट्दै जानेछ । ‘हिउँदमा तापक्रम घट्ने, हुस्सु लाग्ने हुन्छ नै,’ उनले भनिन्, ‘पूर्वी भेगमा न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले बदली पनि हुन थालेको छ ।’ केही दिनअघिसम्म सुक्खा रहेको काठमाडौंमा हुस्सु लाग्न थालेपछि प्रदूषण पनि बढ्न थालेको छ ।