पौष ८, हेटौंडा । बागमती प्रदेशका लागि प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ दफा ६२ अनुसार निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले गत शनिबार दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालय हेटौँडामा प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बागमती प्रदेश सभाका लागि निर्वाचित सदस्यहरूको विवरण सहितको प्रतिवेदन पेस गरेसँगै बागमती प्रदेश सरकार गठनका लागि बाटो खुलेको छ ।
सरकार गठनको प्रक्रिया अघि बढेसँगै प्रदेशको मुख्यमन्त्री को बन्ने भन्नेमा ठूलै रस्साकस्सी छ । बागमतीमा यसअघि नेकपा एमालेको स्पष्ट बहुमत भए पनि यसपालि एमालेलाई ठूलै धक्का लागेकाले यहाँ सत्ता गठबन्धनको सरकार बन्ने लगभग निश्चित छ । गठबन्धनकै सरकार बन्ने भएपछि नेतृत्व गरिरहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस मुख्यमन्त्री नछाड्ने गरी गृहकार्य गरिरहेको छ ।
प्रदेश र देशकै पहिलो पार्टी बनेकाले पनि मुख्यमन्त्रीमा कांग्रेसको दावी स्वाभाविक भए पनि गठबन्धनमा रहेका दलहरूबीच भागबन्डा मिलाउनु जटिल विषय हो । बागमतीमा मुख्यमन्त्री पाउनुपर्ने गठबन्धनका तिनै दलले दाबी गरिरहेका छन् । यद्यपि नेपाली कांग्रेस अझै बलियो दाबेदारको रूपमा रहेको छ । मुख्यमन्त्री बन्नको लागि दल भित्रको संसदीय दलको नेता छान्नु जरुरी रहन्छ ।
नेपाली कांग्रेस भित्र बागमतीको मुख्यमन्त्रीमा २ समूहका व्यक्तिको नाम चर्चामा आएसँगै कांग्रेसको संसदीय दलको विषय अर्को चासोको विषय बनेको छ । संसदीय दलको नेतामा २ जना आकाङ्क्षी देखिएपछि कांग्रेस बागमतीको संसदीय दलको निर्वाचन गर्नेसमेत कांग्रेसले निर्णय गरिसकेको छ । कांग्रेस बागमती प्रदेशको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता छान्न निर्वाचन गर्ने निर्णय निर्णयसँगै प्रक्रिया शुरु भएको छ । बैठकले प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि बागमती प्रदेश समितिका उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा समिति गठन गरेको छ ।
त्यस्तै सत्ता गठबन्धनको अर्को दल माओवादी केन्द्रका शालिकराम जम्कट्टेल पनि मुख्यमन्त्री बन्ने दाउमा छन् । बागमतीमा मुख्यमन्त्री बन्ने पालो माओवादीको भएको तर्क गर्दै जम्कट्टेल मुख्यमन्त्रीको कसरतमा छन् । दुई पटक प्रदेशमन्त्री भइसकेका जम्कट्टेल धादिङ १ खबाट निर्वाचित भएका हुन् ।
माओवादीबाटै मकवानपुर २ क बाट निर्वाचित कुमारी मोक्तान पनि मुख्यमन्त्रीकी आकाङ्क्षी हुन्। मोक्तान हाल प्रदेशको सामाजिक विकास मन्त्री छिन् । त्यस्तै गठबन्धनको अर्को दल एकीकृत समाजवादीमा पनि मुख्यमन्त्रीको आकाङ्क्षी छन् । सानो दल भए पनि पार्टीका नेता कृष्णप्रसाद शर्मा खनाल मुख्यमन्त्रीको आकाङ्क्षी हुन् । खनाल चितवन १ ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यो समाचार हाम्रा कुरा डटकममा छ ।