पौष १०, काठमाण्डौ । नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँदैछ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गरेकी थिइन् ।
नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ । । सोही व्यवस्थाअनुसार राष्ट्रपतिले पुस १० गते आइतबार बेलुका ५ बजे भित्र दाबी पेस गर्न राष्ट्रपतिले दलहरूलाई आह्वान गरेकी हुन् ।
निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मंसिर २८ को तीस दिन (पुस २८) भित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा विश्वासको मत नपाएमा मात्रै ठुलो दलको संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था गरेको छ ।
यसरी संविधानमै स्पष्ट व्यवस्था गरिएकाले आइतबारसम्म सरकार गठन नभएपनि बाँकी २३ दिनभित्र दुई वा दुईभन्दा बढि दल मिलेर सरकार गठन गर्नसक्ने व्यवस्था कायमै रहेको देखिएको छ । पुस २८ गतेसम्म पनि संविधानको धारा ७६ (२) अनुसारको सरकार गठन हुन नसके मात्रै संसदमा सबैभन्दा ठुलो दलको नेतालाई प्रधानमन्त्री चयन गर्ने बाटो खुल्नेछ ।