पौष ११, काठमाडौ । सात दलीय नयाँ सत्ता गठबन्धनको पहिलो बैठक नयाँ वानेश्वरस्थित संसद भवनमा सोमबार बस्दैछ । उक्त बैठकमा सहभागि हुन सातै दलका शीर्ष नेताहरु संसद भवन पुगिसकेका छन् । बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी तथा नागरिक उन्मुक्ति पार्टिका शीर्ष नेताहरु सहभागी हुनेछन् ।
सात दल र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनसहित प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएपछि आजै सानो आकारको मन्त्रिमण्डल बनाउने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले मन्त्रिपरिषद्मा पार्टीका तर्फबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई सहभागी गराउने निर्णय गरेको हो । श्रेष्ठले सम्हाल्ने मन्त्रालयका बारेमा टुङ्गो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी र्दिए पनि उनलाई उपप्रधानमन्त्री बनाइने स्रोतको दावी छ ।