मंसिर १८, काठमाण्डौ । अव्यवस्थित तथा प्रयोगमा नरहेका तारहरू हटाउने ४५ दिने सूचनालाई सम्बन्धित सरोकारवालाले बेवास्ता गरेको भन्दै विद्युत प्राधिकरणले ताकेता गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै तार व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको उल्लेख गरेको हो । प्राधिकरणले सूचना जारी गरेको आज ३० दिन पुगेको छ । आजबाट थप १५ दिनमा तारहरू हटाइसक्न उसले ताकेता गरेको हो ।
प्राधिकरणको विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर केबलर कोएक्सियल केबल तथा पोलमा जथाभाबी झुन्ड्याइएको उपकरणहरू निर्धारित मापदण्ड अनुसार ४५ दिन भित्रमा व्यवस्थित गर्ने सम्बन्धमा प्राधिकरणले गत कात्तिक १५ गते सूचना जारी गरेको थियो । सोही सूचना अनुरूप इन्टरनेट सेवाप्रदायकहरूले विभिन्न पोलमा प्रयोगमा नभएका तारहरू हटाउने काम पनि सुरु गरेका थिए। तर उक्त काम प्रभावकारी हुन नसकेको प्राधिकरणको भनाइ छ ।