मंसिर २२,दार्चुला । दार्चुलाको खलङ्गा बजार नजिकै महाकाली नदीमा बनाएको अनधिकृत संरचना हटाउन भारत सहमत भएको छ । आज बुधवार भारतको धारचुलामा भएको नेपाल–भारत सीमा समन्वय समितिको बैठकमा भारतले महाकालीमा नदीमा बनाएका संरचना हटाउन र थप संरचना निर्माण नगर्न सहमति जनाएको हो ।
भारतले महाकाली नदीमा निर्माण गरिरहेको पक्की तटबन्धबारे विवाद भएपछि दुई देशका सुरक्षा अधिकारीहरूबीचको समन्वयात्मक बैठक बसेको हो । बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । आजको बैठकले तारजालीसहितको अस्थायी बाँध हटाउने सहमति गरेको उनले बताए ।