मंसिर २८, काठमाडौं । कोरोना कहरका कारण करिब तीन वर्ष थला परेको नेपालको पर्यटन क्षेत्र २०२२ मा सुधार उन्मुख देखिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण सन् २०१९ र २०२० मा ठप्प बनेको पर्यटन उद्योग ०२१ बाट केही चलायमान हुन थालेको थियो ।
पर्यटन बोर्डको तथ्यांकअनुसार ०२२ मा नेपालमा पर्यटन क्षेत्रमा सुधार आएको छ । २०२२ को नोभेम्बरसम्म पाँच लाखभन्दा बढी बाह्य पर्यटक नेपालमा आएका छन् । बोर्डको तथ्यांकमा जनवरीदेखि नोभेम्बरसम्म ५ लाख २६ हजार २१६ पर्यटक विभिन्न देशबाट नेपालमा आएका छन् । सबैभन्दा धेरै पर्यटक अक्टुबरमा ८८ हजार ५८२ आएका छन् ।
जनवरीमा १६ हजार ९७५ पर्यटक नेपाल आएकोमा फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ पर्यटक आएको तथ्यांक छ । मेमा ५३ हजार ६०८, जुनमा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ६६२, अगष्टमा ४१ हजार ३०४, सेप्टेम्बरमा ४१ हजार ३१४ र नोभेम्बरमा ७२ हजार ६५३ पर्यटक नेपाल आएको बोर्डको तथ्यांकमा उल्लेख छ ।