पौष ६, काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको जानकारीबेगर आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरिएको खण्डमा पार्टीले त्यसको स्वामित्व नलिने बताएका छन् ।
संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थापा ३९ मतान्तरले पराजित भएका छन् । चुनाव हारेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले अब औपचारिक रुपमा पार्टी भित्र छलफल भएर गरिएका सहमतिमात्र पार्टीले बोक्ने बताए ।
‘पछि गएर कांग्रेसले धोका दियो भन्न पाउनुहुन्न । पार्टीको संसदीय दल र सम्बन्धित समितिमा छलफलबेगर त्यस्तो सहमति गरियो भने त्यो उहाँको व्यक्तिगत कुरा हुन्छ । त्यसको दायित्व पार्टीले बोक्दैन,’ थापाले भने ।
सञ्चारकर्मीसँग कुरा गर्दै गगनले संसदीय दलको चुनावपछि आगामी सरकारको नेतृत्व गर्न कांग्रेसलाई ढोका खुलेको बताए । कांग्रेस संसदीय दलका नेताको नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताए । तर आफू सरकारमा नजाने बताए ।
उनले भने, ‘म संसदीय दलकै नेतृत्व परिवर्तन हुनुपर्छ भनेर लागेको हुँ । अरुको नेतृत्वमा सरकारमा जाने प्रश्न आउँदैन । म आउँदो संसदीय दलको चुनावका लागि नै तयारी गर्छु ।’