पौष ८, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै सत्ता गठबन्धन कायम राख्ने भए आफूलाई पहिलो चरणमै प्रधानमन्त्रीमा समर्थन गर्न कांग्रेसलाई एक दिने अल्टिमेटम दिएका छन् । बालुवाटारमा बिहीबार साँझ भएको गठबन्धनका शीर्ष नेताहरूको छलफलका क्रममा प्रचण्डले शुक्रबारसम्म जवाफ दिन भनेपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निकट नेताहरूसँग छलफल थालेका छन् ।
बैठकमा प्रचण्डले गठबन्धनबाट कांग्रेसले सरकार चलाइसकेकोले अब आफूले पालो पाउनुपर्ने बताएका थिए । प्रचण्डको अडानमा देउवाले भने सहमति नजनाएको बालुवाटार स्रोतले बताएको छ । पाँच वर्ष आलोपालो सरकार चलाउनेमा समझदारी भए पनि पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्नेमा कांग्रेस र माओवादीबीच संघर्ष चलिरहँदा प्रचण्डले शुक्रबारभित्रै जवाफ दिन भनेका हुन् ।