पौष ८, काठमाडौं । अन्तर्राष्ट्रिय कुख्यात अपराधी फ्रान्सेली नागरिकलाई आज शुक्रबार सरकारले उनकै देश पठाउँदैछ । सर्वोच्च अदालतको आदेशपछि उनि हिजो विहीबार नै जेलबाट छुटेका छन् । हिजो नै उनलाई फ्रान्स पठाउने तयारी भएपनि टिकट,भिसा लगायतका कारण पाहुनाको रुपमा केन्द्रीय जेलमै बसेका थिए । उनी कुख्यात अन्तर्राष्ट्रिय अपराधि भएकाले अब नेपाल आउन नदिने सरकारको तयारी छ । अध्यागमन विभागले अब शोभराजलाई नेपाल आउन नदिने तयारी भएको जानकारी दिएको छ । नेपालमा अपराध गरेका विदेशी नागरिकलाई समय तोकेरै नेपाल फर्कन रोक लगाउने कानुनी व्यवस्था छ, त्यसमा टेकेर निर्णय हुने सम्भावना रहेको विभागले जनाएका छ ।
सर्वोच्च अदालतले गएको बुधबार फैसलामार्फत शोभराजलाई रिहा गर्न र १५ दिनभित्र स्वदेश फर्काउन बुधबार आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १० महिना कैद छुट दिँदै उनलाई थुनामुक्त गर्न बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको थियो । शोभराज १९ वर्षदेखि नेपालको कारागारमा थिए । सन् १९७५ मा दुई विदेशी नागरिकको हत्या गरेको अभियोगमा उनलाई सन् २००३ मा पक्राउ गरिएको थियो । त्यसअघि शोभराजले भारतका जेलमा करिब २१ वर्ष बिताएका थिए ।