पौष ९, काठमाण्डौ । चालू आर्थिक वर्ष २०७९र८० को ५ महिनामा नेपालबाट २७ करोड ८१ लाख रूपैयाँको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार साउनदेखि मंसिर महिनासम्ममा उक्त मूल्य बराबरको यार्सागुम्बा विदेशतर्फ निर्यात भएको हो ।
५ महिनाको अवधिमा नेपालबाट ४५३ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । नेपालबाट यस अवधिमा विश्वका ११ वटा देशमा यार्सागुम्बा निर्यात भएको छ । विभागका अनुसार युरोप, एसिया र अमेरिकाका देशमा नेपालबाट यार्सागुम्बा निर्यात भएको छ । हङकङमा ११ करोडको यार्सागुम्बा निर्यात हुँदा कम्बोडियामा १० करोडको यार्सागुम्बा निर्यात भएको छ । यस्तै, भियतनाममा ४ करोड निर्यात हुँदा अमेरिकामा ५१ लाखको निर्यात भएको छ । यसैगरी, सिंगापुरमा ८७ लाखको यार्सागुम्बा निर्यात हुँदा मलेसियामा २३ लाखको निर्यात भएको छ ।
यस्तै चालू आर्थिक वर्ष २०७९र८० को ५ महिनाको अवधिमा विदेशबाट १२ करोड रूपैयाँ बराबरको मरिच आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा १२ करोड २ लाख रूपैयाँ बराबरको मरिच आयात भएको हो । यस अवधिमा २ लाख ४५ हजार किलोग्राम मरिच आयात गर्दा आयातकर्ताले २ करोड ५० लाख रूपैयाँ बराबरको भन्सार राजश्व तिरेका छन् । नेपालमा विश्वका ३ वटा देशबाट मरिच आयात हुने गरेको छ । तीमध्ये भियतनामबाट सबैभन्दा धेरै मरिच आयात भएको भन्सार विभागले जनाएको छ ।