पौष ५,काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । नेता शेखर कोइराला नेतृत्वको समूहले महामन्त्री थापालाई उम्मेदवार बनाएसँगै आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार रहेका देउवा र थापाबीच प्रतिस्पर्धा हुने भएको हो ।
कोइराला पक्षको बैठकपछि उपसभापति धनराज गुरुङले महामन्त्री थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरेको बताए । त्यही बैठकमा पुगेका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि बदलिएको परिस्थिति र समयलाई ध्यान दिएर थापालाई संसदीय दलको नेता बनाउन आह्वान गरे । उनले देउवा पनि आफू उम्मेदवार नभइ शेखर कोइरालाले झैँ वैकल्पिक नेतृत्वको नाम प्रस्ताव गर्नुपर्ने बताए ।
पाँच पटक सभापति रहेका देउवा छैटौँ पटक प्रधानमन्त्री बन्न पार्टीको संसदीय दलको नेताको चुनावमा प्रतिस्पर्धामा छन् । महामन्त्री थापा भने पहिलो पटक संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दै हुन् । कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही व्यक्ति प्रधानमन्त्रीको उम्मेदवार बन्ने अभ्यास छ ।
कांग्रेसले यसअघि नै गठन गरेको संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकअनुसार आज उम्मेदवारी दर्ता, उम्मेदवारविरुद्ध दाबी विरोध गर्ने र नाम फिर्ता गर्ने समय तोकिएको छ । आज नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । कांग्रेस संसदीय दलको नेताको चुनाव भने भोलि बुधवार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।